काठमाडौं । राजसंस्थाको माग गर्दै काठमाडौं उपत्यकामा प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति– २०७७’ को आह्वानमा शनिबार प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको स्थापनाको माग गर्दै संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा आगामी फागुन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन सुरु गर्ने जानकारी दिइएको थियो ।
जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न रोक लगाएको छ । तर, प्रदर्शनकारीहरुले प्रशासनको उक्त आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् । पछिल्लो समय राजावादीहरुले देशभर प्रदर्शन गर्दै आएका छन् ।