सिन्धुपाल्चोक खाडीचौर।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ सिन्धुपाल्चोकको आयोजना तथा बीबीसी मिडिया एक्सनको आर्थिक सहयोगमा मौसम तथा जलवायु सूचनासेवा (WCLS) प्रणाली सम्बन्धी अभिमुखीकरण तालिम खाडीचौरमा सम्पन्न भएको छ। समुदायस्तरमा मौसम तथा जलवायु सम्बन्धी सूचना पहुँच विस्तार गर्दै विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम महासङ्घका जिल्ला अध्यक्ष जनक राज गिरी को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा सुनकोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जालबहादुर लामा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सम्झना कार्की, सुशीला श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन महासङ्घका कार्यक्रम संयोजक यज्ञ दङ्गाल ले गर्नुभएको थियो भने स्वागत मन्तव्य बलेफी महासङ्घका कोषाध्यक्ष बद्रीनाथ पौडेल ले राख्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा मौसम तथा जलवायु सूचनासेवा (WCLS) प्रणालीको महत्व, यसको प्रभावकारी प्रयोग तथा समुदायस्तरमा मौसमसम्बन्धी सूचना प्रवाह गर्ने विषयमा विस्तृत सहजीकरण गरिएको थियो। जलवायु परिवर्तनका कारण पछिल्लो समय प्राकृतिक विपद्का घटना बढ्दै गएको, वर्षाको अनियमितता, बाढीपहिरो, डढेलो तथा कृषि र वन क्षेत्रमा परेको प्रत्यक्ष असरका विषयमा समेत छलफल गरिएको थियो। यस्ता चुनौतीका बीच समयमै सही र भरपर्दो मौसमसम्बन्धी सूचना प्राप्त गर्न सके समुदायलाई सम्भावित जोखिमबाट जोगाउन ठूलो सहयोग पुग्ने वक्ताहरूले बताएका थिए।

तालिमका क्रममा सहभागी वन उपभोक्ता समितिका पदाधिकारीहरूलाई मोबाइल तथा अन्य माध्यमबाट मौसमसम्बन्धी सूचना कसरी प्राप्त गर्ने, समुदायमा ती सूचना प्रभावकारी रूपमा कसरी प्रवाह गर्ने तथा विपद् न्यूनीकरणमा यसको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो। विशेषगरी ग्रामीण क्षेत्रमा समयमै सूचना नपुग्दा हुने क्षति न्यूनीकरण गर्न स्थानीय तह, सामुदायिक वन समूह तथा समुदायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।कार्यक्रममा सहभागीहरूले यस्ता तालिम समुदायका लागि अत्यन्त उपयोगी भएको बताएका थिए। सहभागीहरूले जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा मौसमसम्बन्धी सूचना प्रणालीले कृषि, वन संरक्षण तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने धारणा व्यक्त गरेका थिए। साथै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक रूपमा सञ्चालन गर्दै गाउँगाउँसम्म विस्तार गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकाका सक्रिय वन उपभोक्ता समितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार यसअघि यस्तै अभिमुखीकरण कार्यक्रम वैशाख ५ गते चौतारामा तथा वैशाख १९ गते मेलम्चीमा समेत सम्पन्न भइसकेको छ।भने यस कार्यक्रममा आर्थिक सहयोग बीबीसी मिडिया एक्सन ले गरेको थियो।

यस सम्बन्धमा जानकारी दिँदै कार्यक्रम संयोजक यज्ञ दङ्गाल ले समुदायस्तरमा मौसम तथा जलवायु सम्बन्धी सूचना पहुँच विस्तार गरी विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विभिन्न स्थानीय तह र समुदायसँग सहकार्य गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।









