सिन्धुपाल्चोक खाडीचौर।
सिन्धुपाल्चोक — बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा जनसंख्या तथा बसाइँसराइ सम्बन्धी कार्यक्रम अन्तर्गत पिछडिएको क्षेत्र एवं सिमान्तकृत समुदायका किशोर–किशोरीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सुनकोशी गाउँपालिका वडा नं १ मा स्थित पहरी बस्ती सामुदायिक स्वास्थ्य इकाइमा आयोजित उक्त कार्यक्रम स्वास्थ्य इकाइ प्रमुख भोलानाथ पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने सुनकोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द बहादुर हायुको विशेष आतिथ्यता रहेको थियो। साथै जिल्ला जनस्वास्थ्य अधिकृत बबिता श्रेष्ठ र हिसिला दनुवारको समेत कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा विशेषगरी पिछडिएको क्षेत्र तथा सिमान्तकृत समुदायका किशोर–किशोरीलाई लक्षित गर्दै स्वास्थ्य, जनसंख्या तथा बसाइँसराइसँग सम्बन्धित विभिन्न विषयमा जानकारीमूलक छलफल गरिएको थियो। किशोरावस्थामा देखिने शारीरिक तथा मानसिक परिवर्तन, प्रजनन स्वास्थ्य, सरसफाइ, पोषणयुक्त खानपान तथा स्वस्थ जीवनशैलीका विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो।कार्यक्रमका वक्ताहरूले उमेर नपुग्दै विवाह गर्दा स्वास्थ्य, शिक्षा तथा भविष्यमा नकारात्मक असर पर्ने भएकाले बालविवाह अन्त्य गर्न सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए। त्यस्तै पछिल्लो समय किशोर–किशोरीहरूमा बढ्दै गएको जङ्कफुड सेवनले स्वास्थ्यमा पार्ने असरबारे समेत जानकारी दिइएको थियो। पोषणयुक्त खानेकुरा सेवन गर्न, नियमित सरसफाइ अपनाउन तथा आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न सहभागीहरूलाई आग्रह गरिएको थियो।

प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा खुला छलफल गरिनुका साथै किशोर–किशोरीहरूले आफ्ना जिज्ञासा राख्ने अवसर पनि पाएका थिए। कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले आफूहरूलाई धेरै उपयोगी जानकारी प्राप्त भएको बताएका थिए।

कार्यक्रममा करिब ६० जना किशोर–किशोरी तथा स्थानीय समुदायका व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच समन्वय गरी यस्ता कार्यक्रम सञ्चालन गर्दा पिछडिएको समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको थियो।









