चौतारा, जेठ २८ गते ।
गणतन्त्र स्थापना र संघीयता कार्यान्वयनसँगै सिन्धुपाल्चोक जिल्लामा स्थानीय विकासले उल्लेखनीय फड्को मारेको छ । नेपालको संविधान कार्यान्वयनको अभ्यास सुरु भएपछि संघीय संरचनाअन्तर्गत प्रदेश तथा स्थानीय तहमार्फत विकास निर्माणका काम तीव्र गतिमा अघि बढेका हुन् । स्थानीय नागरिकका अनुसार विगतको तुलनामा पछिल्ला वर्षहरूमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहका केन्द्रदेखि वडा कार्यालयसम्म पक्की सडक निर्माण भएका छन् भने ग्रामीण बस्तीहरूमा समेत सडक पहुँच विस्तार भएको छ

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारशिक्षा क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकका अनुसार जिल्लाका करिब ९० प्रतिशतभन्दा बढी विद्यालयमा पक्की भवन निर्माण सम्पन्न भएको छ । यसले विद्यार्थीलाई सुरक्षित तथा व्यवस्थित शैक्षिक वातावरण उपलब्ध गराएको छ ।स्वास्थ्य सेवामा समेत पहुँच विस्तार भएको छ । सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुगेको मात्र नभई कतिपय पालिकामा अस्पताल निर्माण गरिएका छन् । सुनकोशी, पाँचपोखरी गाउँपालिका तथा मेलम्ची, बाह्रबिसे नगरपालिकामा अस्पताल सञ्चालन गरिएका छन् । जिल्ला अस्पतालका रूपमा रहेको चौतारा अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको अस्पताल बनाइएको छ । यसले जिल्लावासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको छ ।पूर्वाधार र स्थानीय उत्पादनमा वृद्धिप्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत जिल्लाभर दर्जनाौँ सडक स्तरवृद्धिको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रकाश पौडेलका अनुसार कतिपय सडक निर्माण सम्पन्न भइसकेका छन् भने केही सडक स्तरवृद्धिको चरणमा रहेका छन् ।स्थानीय तहहरूले कृषि, पशुपालन तथा आयआर्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दा ग्रामीण नागरिकको आयस्तर र उत्पादनमा वृद्धि भएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय सरकारमार्फत सञ्चालन भएका कार्यक्रमले नागरिकलाई स्वरोजगार बन्न प्रेरित गरेका छन् ।त्यस्तै बलेफी गाउँपालिका वडा नं. ६ का अध्यक्ष तेजबहादुर पराजुलीले खानेपानी, सडक पहुँच, पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र समावेशिताका क्षेत्रमा स्थानीय तहले प्रभावकारी काम गरिरहेको बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार संघीय शासन व्यवस्थाले गाउँगाउँमा विकास पुर्याउन सहज बनाएको छ । सामाजिक तथा भौतिक पूर्वाधार निर्माणका कामले नागरिकको दैनिक जीवनमा सकारात्मक परिवर्तन देखिन थालेको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाको भनाइ छ ।







