सिन्धुपाल्चोक।
अरनिको राजमार्ग अन्तर्गत कोदारी–तातोपानी क्षेत्रमा वर्षौँदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणका लागि बहुप्रतीक्षित परियोजना अघि बढाइएको छ । नेपाल–चीन व्यापारका लागि अत्यन्त महत्वपूर्ण नाका तातोपानी क्षेत्रको सुरक्षालाई लक्षित गर्दै करिब ४७ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भइसकेको भए पनि निर्माण कार्य भने सुरु हुन बाँकी छ । वर्षायाममा निरन्तर बाढी, पहिरो र नदी कटानका कारण सडक अवरुद्ध हुँदा नाका सञ्चालनमा ठूलो असर पर्ने गरेको छ । गत वर्ष मात्रै दर्जनौँ पटक सडक अवरुद्ध हुँदा लक्ष्यअनुसार राजस्व संकलनसमेत प्रभावित भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । हाल सुरु हुन लागेको यो परियोजना नेपालकै सबैभन्दा ठूलो ‘स्लोप स्टेबिलाइजेसन’ (भिरालो जमिन स्थिरीकरण) कार्यक्रम मानिएको छ । अरनिको राजमार्गको चीन सीमाक्षेत्र नजिक पर्ने ११३ किलोमिटर खण्डमा रहेको यो पहिरो विगत एक दशकदेखि पटक पटक अवरुद्ध रहँदै आएको छ । पहिरोका कारण सडक मात्रै होइन, माथिल्लो बस्तीका करिब २५० भन्दा बढी घरसमेत उच्च जोखिममा परेका छन् ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार पहिरो नियन्त्रणका लागि ३० मिटर गहिराइसम्म ‘सोइल तथा रक एंकर रड’ जडान गरी ग्राउटिङ गरिनेछ । साथै, सडक सुरक्षाका लागि एमएसई वाल निर्माण र पानी व्यवस्थापनका लागि प्रभावकारी ड्रेनेज प्रणालीसमेत विकास गरिने योजना छ । निर्माणको जिम्मा पाएको टीएसएन कन्स्ट्रक्सनले आवश्यक उपकरण तथा स्रोतसाधन कार्यस्थलमा जनाएको छ । कम्पनीका सञ्चालक टंकनाथ ढकालले यो सामान्य सडक निर्माण नभई जटिल इन्जिनियरिङ परियोजना भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार केही प्रक्रियागत ढिलाइका कारण काम सुरु हुन नसके पनि अब चाँडै नै निर्माण थालिनेछ । आगामी असार मसान्तसम्म मुख्य काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ, ताकि वर्षायाम सुरु हुनु अघि नै जोखिम न्यूनीकरण गर्न सकियोस् । स्थानीय बासिन्दा तथा व्यवसायीहरूले पनि वर्षा अघि नै दीर्घकालीन समाधानको अपेक्षा गर्दै काम तीव्र गतिमा अघि बढाउन दबाब दिइरहेका छन् । यदि समयमै काम सम्पन्न भएमा नेपाल–चीनबीचको व्यापारिक आवागमन सहज हुने र बारम्बारको अवरोध अन्त्य हुने विश्वास व्यवसायीहरुले गरेका छन् ।




