चौतारा।
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ को आयोजनामा ‘युवाभेला’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। जिल्लाभरबाट उल्लेखनीय संख्यामा युवाहरूको सहभागिता रहेको उक्त कार्यक्रमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक एकता, सक्रियता र चुनावी रणनीतिबारे व्यापक छलफल गरेको थियो।कार्यक्रम युवा संघ सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सुरज लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा नेकपा एमालेका पूर्वमन्त्री तथा क्षेत्र नम्बर १ का उम्मेदवार सरेश नेपाल उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी प्रदेश कमिटी सदस्य हेमगंगा मोक्तान, पार्टी जिल्ला अध्यक्ष होम नारायण श्रेष्ठ, पूर्व अध्यक्ष कमल नेपाल, जिल्ला कमिटी उपसचिव सुशीला पाख्रिन, युवा नेता युद्धविक्रम तामाङ लगायत केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

युवाहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्न आह्वान गर्नुभयो। उहाँले युवाहरूलाई घरदैलो अभियान, मतदाता शिक्षादेखि मतदानको दिनसम्म सक्रिय रूपमा परिचालन हुन आग्रह गर्नुभयो। “युवा शक्ति संगठित भयो भने परिणाम हाम्रो पक्षमा सुनिश्चित हुन्छ,” उहाँले भन्नुभयो।अध्यक्ष सुरज लामाले युवाबेलाको उद्देश्य संगठनलाई थप सुदृढ बनाउनु र निर्वाचन लक्षित कार्यक्रमहरूलाई प्रभावकारी बनाउनु रहेको बताउनुभयो। उहाँले युवाहरूलाई अनुशासन, एकता र जिम्मेवारीका साथ अभियानमा जुट्न आग्रह गर्नुभयो।कार्यक्रममा अन्य वक्ताहरूले पनि युवाको भूमिका केवल प्रचार–प्रसारमा सीमित नभई मतदाता सचेतना अभिवृद्धि, सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देश प्रवाह तथा भ्रम चिर्ने कार्यमा समेत महत्वपूर्ण हुने धारणा राखेका थिए। विशेषगरी फागुन २१ को निर्वाचनमा सरेश नेपाललाई अत्याधिक बहुमतले विजयी गराउन युवाहरू अग्रपंक्तिमा उभिनुपर्नेमा जोड दिइएको थियो।प्रदेश कमिटी सदस्य हेमगंगा मोक्तानले संगठनलाई गाउँ–टोलसम्म विस्तार गर्दै प्रत्येक मतदातासम्म पुग्नुपर्ने आवश्यकता औंल्याउनुभयो। पार्टी जिल्ला अध्यक्ष होम नारायण श्रेष्ठले एकताबद्ध भएर काम गरे विजय सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी युवाहरूले उत्साहजनक उपस्थिति जनाउँदै चुनावी अभियानलाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए। विभिन्न नारासहित कार्यक्रमस्थल उत्साहपूर्ण बनेको थियो।उक्त ‘युवाबेला’ कार्यक्रमले संगठनात्मक रूपमा युवाहरूलाई थप सशक्त र सक्रिय बनाउने विश्वास व्यक्त गरिएको छ। आगामी निर्वाचनलाई ऐतिहासिक बनाउँदै सरेश नेपाललाई अत्याधिक मतले विजयी गराउने अठोटका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।


धन्यवाद ।







