सिन्धुपाल्चोक।
सुनकोशी गाउँपालिका, चैत १६, २०८२ — बालबालिकाको हक, हित, संरक्षण र समग्र विकासलाई केन्द्रमा राख्दै सुनकोशी गाउँपालिकामा एक महत्वपूर्ण पालिका स्तरीय पैरवी बैठक भव्य रूपमा सम्पन्न भएको छ। उक्त बैठक सुनकोशी गाउँपालिकाको समन्वय, अन्तरपिडिया संस्थाको सहयोग तथा समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) संस्थाको आयोजनामा गाउँपालिकाका अध्यक्ष श्री टपिन्द्र प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू, विद्यालयका शिक्षक तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले बालअधिकारको सुनिश्चितता र बालमैत्री वातावरण निर्माणमा स्थानीय तहको जिम्मेवारी अझ सुदृढ बनाउनुपर्ने कुरामा जोड दिएका थिए।बैठकमा बालअधिकारसँग सम्बन्धित विविध महत्वपूर्ण विषयहरूमा गहन छलफल भएको थियो। विशेषगरी, प्रत्येक वडामा गठन भएका बालअधिकार समितिहरूलाई संस्थागत रूपमा सुदृढ गरी प्रभावकारी बनाउने, बालमैत्री स्थानीय शासन प्रणालीलाई व्यवहारमा उतार्न पालिका स्तरबाट आवश्यक बजेट विनियोजन गर्ने, दक्ष जनशक्ति तथा सहजकर्ताको व्यवस्था गर्ने विषयमा स्पष्ट धारणा राखिएको थियो। त्यस्तै, बालबालिकाको वास्तविक अवस्था झल्किने गरी तथ्याङ्क संकलन तथा नियमित अद्यावधिक गर्ने, त्यसका आधारमा योजना निर्माण गर्ने र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन प्रणाली विकास गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो।

छलफलका क्रममा सहभागीहरूले बालबालिकाको अधिकार संरक्षण केवल नीतिगत विषय मात्र नभई व्यवहारमा कार्यान्वयन हुनुपर्ने विषय भएकोमा जोड दिएका थिए। बालबालिका सुरक्षित, शिक्षित, स्वस्थ र सशक्त भए मात्र समाज समुन्नत र समृद्ध बन्न सक्ने धारणा राख्दै सबै तह र निकायबीच सहकार्य, समन्वय र साझा प्रतिबद्धताको आवश्यकता औंल्याइएको थियो।बैठकले स्थानीय तहमा बालमैत्री वातावरण निर्माणका लागि स्पष्ट मार्गचित्र तयार पार्नुका साथै बालअधिकार संरक्षणमा दीर्घकालीन सोच र कार्ययोजनाको खाँचो रहेको सन्देश प्रवाह गरेको छ। सहभागीहरूले बालबालिकाको आवाजलाई सुन्ने, उनीहरूको सहभागितालाई सुनिश्चित गर्ने र उनीहरूलाई निर्णय प्रक्रियामा समावेश गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताएका थिए।

कार्यक्रमको अन्त्यमा बालअधिकार संरक्षण, प्रवर्द्धन र सुनिश्चितताका लागि सबै सरोकारवाला निकायहरूले आ–आफ्नो भूमिका जिम्मेवारपूर्वक निर्वाह गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।“बालबालिका राष्ट्रका वर्तमान मात्र होइनन्, भविष्यका मार्गनिर्देशक पनि हुन्। उनीहरूको अधिकारको संरक्षण, उचित शिक्षा, स्वास्थ्य र सुरक्षित वातावरण सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो। आज गरिएको सानो लगानीले भोलिको सुदृढ, सभ्य र समृद्ध समाज निर्माण गर्छ। त्यसैले बालमैत्री समाज निर्माणमा प्रत्येक व्यक्ति, परिवार, समुदाय र स्थानीय तहको सक्रिय सहभागिता अनिवार्य छ।”





