सिन्धुपाल्चोकको चौतारा–२ स्थित भोटे फुल्पिङ्गमा २० दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। बाक्लो तामाङ्ग बस्ती रहेको उक्त क्षेत्रमा सञ्चालन गरिएको तालिममा १५ जनाको सहभागिता रहेको थियो।
प्रशिक्षक शान्ति थिङगको सहजीकरणमा सञ्चालन गरिएको तालिमप्रति स्थानीय सहभागीहरूले विशेष चासो र महत्व दिएको पाइएको छ। स्थानीय आवश्यकता र मागअनुसार कार्यक्रम आयोजना गरिएकाले समुदायमा सकारात्मक प्रभाव परेको बताइएको छ।

उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रम वडा नं. २ र जिल्ला लघु उद्यमी संघको समन्वयमा सम्पन्न गरिएको हो। कार्यालयले साना तथा मझौला उद्योगको विकास र प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको छ।कार्यालय प्रमुख त्रिपुरारी बख्रेलका अनुसार स्थानीय समुदायको आवश्यकता पहिचान गरी यस्ता तालिम कार्यक्रमहरू आयोजना गरिँदै आएको छ, जसले उद्यमशीलता विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ।





