चौतारा सिन्धुपाल्चोक ।
सुनकोशी गाउँपालिकामा २०८२ सालको अन्तिम परीक्षा आजदेखि सुरु भएसँगै विभिन्न विद्यालयहरूमा परीक्षा निरीक्षण तथा भौतिक पूर्वाधारको अनुगमन गरिएको छ। यसै क्रममा गाउँपालिका वडा नम्बर ४ स्थित गणेश माध्यमिक विद्यालय , र बेत्रावती आधारभूत विद्यालय, वडा नम्बर ५ स्थित भुमेश्वरी माध्यमिक विद्यालयमा निरीक्षण सम्पन्न भएको छ।

निरीक्षण टोलीमा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिन्द्र चौधरी, शिक्षा अधिकृत निमबहादुर बुढाथोकी, सूचना अधिकारी प्रवेशिका डाँकी तथा बालकल्याण अधिकारी सन्तोषी राउतको उपस्थिति रहेको थियो। साथै टुकीसंघ सुनकोशीका प्रतिनिधिहरू नवराज पराजुली र सरस्वती कट्टेल पनि निरीक्षणमा सहभागी हुनुभएको थियो।टोलीले विद्यालयहरूको भौतिक पूर्वाधार, परीक्षा सञ्चालनको अवस्था, विद्यार्थीहरूको सहभागिता तथा व्यवस्थापन पक्षको सूक्ष्म रूपमा अनुगमन गरेको थियो। साथै टुकीसंघ सुनकोशीले शिक्षा क्षेत्रमा गरेका विभिन्न कार्यक्रमहरू र त्यसका प्रभावहरूको पनि मूल्याङ्कन गरिएको छ।निरीक्षणका क्रममा जिम्मेवार अधिकारीहरूले परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक निर्देशन दिनुका साथै विद्यालयहरूको शैक्षिक तथा भौतिक सुधारका लागि आवश्यक सुझावहरू पनि प्रदान गर्नुभएको छ।

निरीक्षण टोलीले आगामी दिनहरूमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने, विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र भौतिक पूर्वाधार सुदृढ बनाउनेतर्फ जोड दिने बताएको छ। उक्त निरीक्षण कार्यक्रमबारे जानकारी दिँदै गाउँपालिकाका सूचना अधिकारी प्रवेशिका डाँकी ले शिक्षा क्षेत्रमा भइरहेको यस्तो सहकार्यले दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
।
।








