सिन्धुपाल्चोक चौतारा
सुनकोशी गाउँपालिका वडा नं. ३ स्थित उखुबारीमा ‘अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय (हेटौँडा, मकवानपुर) को आयोजना र गाउँ पर्यटन प्रवर्द्धन मञ्च–नेपाल को सह-आयोजनामा असार १० गतेदेखि १२ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

पर्यटन प्रवर्द्धन मञ्चका केन्द्रीय अध्यक्ष हरिशरण थपलियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रवक्ता ईश्वर तिमल्सिना प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।त्यस्तै, कार्यक्रममा विशेष अतिथिको रूपमा सुनकोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष ईश्वर तामाङ र वडा नं. ३ का पूर्व वडाध्यक्ष रामहरी खड्काको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उखुबारी सामुदायिक होमस्टेका सचिव पुष्पराज पराजुलीले गर्नुभएको थियो।

ग्रामीण पर्यटनको प्रवर्द्धन, स्थानीय कला-संस्कृतिको जगेर्ना र होमस्टे (सामुदायिक आवास) को व्यावसायिक विकास गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) का केन्द्रीय समितिका पदाधिकारीहरूका साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ३ दिनसम्म चलेको यस प्रवर्द्धनात्मक भ्रमणले उखुबारी क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।

तीन दिनसम्म चलेको यस विशेष अध्ययन तथा प्रवर्द्धनात्मक भ्रमणका क्रममा सहभागीहरूले उखुबारी गाउँको प्राकृतिक सुन्दरताको अवलोकन, स्थानीय रैथाने परिकारहरूको स्वाद ग्रहण र परम्परागत सांस्कृतिक झाँकीहरूको अनुभव लिएका थिए।बागमती प्रदेशको पर्यटन मन्त्रालय र भिटोफ-नेपालको यो संयुक्त प्रयासले आगामी दिनमा उखुबारी सामुदायिक होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने आयोजक र स्थानीयवासीले अपेक्षा गरेका छन्।






